सिद्धिचरण लोकमार्गकाे जोखिमपूर्ण मोडमा ‘कन्भेक्स ऐना’ राखियाे

भिजन समाचार
48
Shares

ओखलढुंगा । सिद्धिचरण लोकमार्ग अन्तर्गत हर्कपुरदेखि ठाडेसम्मका जोखिमयुक्त मोडहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘कन्भेक्स ऐना’ राखिएको छ ।

सडक डिभिजन कार्यालय हर्कपुरका अनुसार मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरदेखि सिद्धिचरण नगरपालिका–६ ठाडेसम्मका विभिन्न खतरनाक मोडहरूमा नयाँ राख्ने र पुराना प्रतिस्थापन गर्ने गरी कुल २६ वटा कन्भेक्स ऐना जडान गरिएको हो । यसका लागि ३ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरिएको जनाइएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सविन जोशीका अनुसार चालु आर्थिक वर्षको विनियोजित बजेटबाट दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ऐना जडान गरिएको हो । कन्भेक्स ऐना राखिएपछि विपरीत दिशाबाट आउने सवारी साधन सजिलै देखिने हुँदा दुर्घटना कम हुने अपेक्षा गरिएको उनले बताए ।

उनका अनुसार जोखिमयुक्त अन्य मोडहरूमा समेत आवश्यकता अनुसार थप ऐना जडान गर्ने योजना रहेको छ । प्राविधिक अध्ययनका आधारमा आगामी दिनमा थप स्थानहरू पहिचान गरी विस्तार गरिने उनले जानकारी दिए ।

यसैबीच, सोही लोकमार्ग अन्तर्गत सोलुखुम्बु क्षेत्रमा पनि २ लाख ५० हजार रुपैयाँ बजेटमा १९ वटा जोखिमपूर्ण मोडहरूमा कन्भेक्स ऐना जडान गरिएको छ ।

कार्यालयका अनुसार ओखलढुंगा र सोलुखुम्बु गरी कुल ४५ वटा जोखिमयुक्त मोडहरूमा कन्भेक्स ऐना राखिएको छ । यसअघि जडान गरिएका ऐनाहरु हावाहुरी र मान्छेले क्षति पुर्याएकाे स्थानमा समेत नयाँ जडान गरिएकाे बताइएकाे छ ।