घरमै राहदानी पु¥याउने ओखलढुंगा प्रशासनको तयारी

भिजन समाचार
96
Shares

ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवाग्राहीलाई लक्षित गर्दै राहदानी सेवा थप सहज बनाउने उद्देश्यले घरमै राहदानी पु¥याउने व्यवस्था सुरु गर्ने तयारी गरेको छ ।

प्रशासनले जिल्ला हुलाक कार्यालयमार्फत तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पु¥याउने सेवा सुरु गर्न लागेको हो । यो सेवा सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले लागू गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीका अनुसार उक्त सेवा प्रारम्भिक चरणमा सिद्धिचरण नगरपालिकाबाट सुरु गरिनेछ । सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ । सोही निर्णयअनुसार प्रशासनले राहदानी वितरण प्रक्रियालाई थप नागरिकमैत्री बनाउन नयाँ प्रणाली लागू गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मनोज कुमार मगरका अनुसार राहदानी तयार भएपछि सम्बन्धित सेवाग्राहीलाई सम्पर्क गरी तोकिएको हुलाक दस्तुर तिर्न सहमति जनाएपछि हुलाकमार्फत राहदानी घरमै पठाइनेछ ।

हाललाई सिद्धिचरण नगरपालिकाबाट आगामी बैशाख १५ गतेदेखि सेवा सुरु गरिने तयारी गरिएको प्रशासनले जनाएको छ । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउने विश्वास लिइएको छ ।