स्वदेशमै रोजगारी सिर्जना गर्न विदेशबाट फर्किएका युवाको माग

भिजन समाचार
40
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाबीच अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी युवाहरूले विदेश बसाइका अनुभव, भोगाइ र सिकाइहरू साझा गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अन्तरक्रियामा बोल्दै वैदेशिक रोजगारीबाट फर्किएर हाल टेलर्स व्यवसाय सञ्चालन गर्दै आएका चन्द्रबहादुर नेपालीले विदेशमा भोग्नुपरेका कठिनाइ र चुनौतीबारे अनुभव सुनाए । उनले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप, जानकारी र कानुनी प्रक्रिया पूरा गर्नु अत्यावश्यक रहेको बताए । साथै, विदेशमा रहँदा नियम–कानुनको पूर्ण पालना गर्नुपर्नेमा उनले विशेष जोड दिए ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईंले सकेसम्म स्वदेशमै रोजगारी खोज्न आग्रह गर्दै विदेश जानै परेमा अनिवार्य रूपमा श्रम स्वीकृति लिएर वैधानिक प्रक्रियामार्फत जान सुझाव दिए । उनले वैदेशिक रोजगारीमा जानुअघि पूरा गर्नुपर्ने प्रक्रिया, आवश्यक कागजात, समस्या पर्दा सम्पर्क गर्ने निकाय, दुर्घटना वा मृत्युको अवस्थामा पाइने निःशुल्क उद्धार, उपचार तथा परिवारले पाउने राहत र छात्रवृत्तिबारे जानकारी गराए ।

सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले स्वदेशमै पनि पर्याप्त रोजगारीका सम्भावना रहेको उल्लेख गर्दै स्थानीय तहले स्वरोजगार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले विदेश जान चाहने युवालाई नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको आप्रवासी स्रोत केन्द्रबाट परामर्श लिएर सुरक्षित र वैधानिक प्रक्रियामार्फत मात्र जान सुझाव दिए ।

कार्यक्रमकै अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका चन्द्रबहादुर नेपालीको अध्यक्षतामा १२ सदस्यीय नगरस्तरीय ‘रिटर्निङ सञ्जाल समिति’ गठन गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्र ओखलढुंगाकी परामर्शकर्ता राधा बस्नेतका अनुसार उक्त समितिले फर्किएका श्रमिकहरूलाई संगठित गर्दै अनुभव आदान–प्रदान तथा रचनात्मक गतिविधिमा संलग्न गराउनेछ ।