१५ जना युवालाई वेटर तालिम

भिजन समाचार
54
Shares

ओखलढुंगा । जिल्लामा युवालाई आत्मनिर्भर र सिपयुक्त बनाउने उद्देश्यले १५ जना युवालाई वेटर/वैट्रस तालिम प्रदान गरिएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगाको आयोजनामा सिद्धिचरण नगरपालिका–१२ का युवाहरुलाई एक महिने निःशुल्क तालिम दिइएको हो ।

केन्द्र प्रमुख जितेन्द्र राईका अनुसार तालिममार्फत युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा सीप विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । उनले वेटर/वैट्रसको सीप स्वदेशमै रोजगारीका लागि उपयोगी हुने मात्र नभई आफ्नै व्यवसाय सञ्चालन गर्न समेत सहयोगी हुने बताए ।

गत चैत ८ गतेदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा महिला तथा पुरुष गरी १५ जना सहभागी रहेका थिए । सहभागीले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आवश्यक आधारभूत सेवा, व्यवहार तथा व्यवस्थापनसम्बन्धी सीप सिकेका छन् ।

वडा अध्यक्ष उमंग श्रेष्ठले तालिमले युवालाई व्यावसायिक रूपमा सक्षम बनाउँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।