ओखलढुंगा । जिल्लाको कमेरे डाँडामा झाक्रीढुंगा (पहरा) कुँदेर निर्माण गरिएको विशाल शिव मूर्ति अहिले पर्यटकको आकर्षण बन्दै गएको छ । करिब एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको ४५ फिट अग्लो उक्त मूर्तिको प्राण प्रतिष्ठापछि यस क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले थप चर्चामा आएको हो ।
स्थानीयको पहलमा निर्माण गरिएको ‘झाक्रेश्वर महादेव’ नाम दिइएको यो मूर्ति २०८० साल मंसिर ६ गतेदेखि सुरु भई २०८३ साल वैशाख ६ गते सम्पन्न भएको हो । वैशाख ६ र ७ गते भव्य धार्मिक अनुष्ठानसहित उद्घाटन गरिएको थियो भने वैशाख ८ गते तीन दिने विशेष पूजा तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको झाक्रीढुंगा निर्माण तथा पूर्वाधार निर्माण मूल समितिका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानीयस्तरमा चन्दा संकलन, जनसहभागिता तथा नगरपालिकाबाट प्राप्त ३ लाख ५० हजार रुपैयाँसहित कुल लागत जुटाइएको हो । प्राण प्रतिष्ठा कार्यक्रममा पितृ आह्वान, मूर्ति जागरण लगायतका विविध धार्मिक विधिहरु सम्पन्न गरिएका थिए ।
धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको यस मूर्तिले ओखलढुंगा मा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ । यससँगै स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि र धार्मिक चेतनामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया