काठमाडौं । नेपालमा दैनिक उपभोग हुने चामलमा अत्यधिक विषादी अवशेष भेटिएको एक अध्ययनले देखाएको छ, जसले जनस्वास्थ्यमा गम्भीर चिन्ता थपेको छ ।
भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ सँगको सहकार्यमा ‘प्रोग्रेसिभ सस्टनेवल डिभलपर्स नेपाल’ ले गरेको अध्ययनअनुसार बजारमा पाइने ८३% चामलका नमुनामा विषादीको अवशेष फेला परेको छ ।
अध्ययनले नेपाल सरकारले प्रतिबन्ध लगाएको ‘क्लोर्पाइरिफोस’ अझै प्रयोग भइरहेको देखाएको छ । भक्तपुरबाट संकलित २०% नमुनामा यो विषादी भेटिएको छ ।
त्यस्तै, ‘अल्मुनियम फस्फाइड’ र ‘जिंक फस्फाइड’ जस्ता घातक विषादीसमेत असुरक्षित रूपमा प्रयोग भइरहेको पाइएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंका नमुनामा सबैभन्दा बढी विषादी फेला परेको छ भने विशेष गरी ‘बासमती’ चामलमा विषादीको अवशेष अझै बढी मात्रामा भेटिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका अनुसार चामलमा मुख्य रूपमा ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोलजस्ता विषादीहरू बढी मात्रामा पाइएका छन् ।
ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोलजस्ता विषादीहरू युरोपेली मापदण्डभन्दा बढी पाइएको अध्ययनले जनाएको छ ।
प्रतिवेदनले कृषि क्षेत्रमा विषादीको अनियन्त्रित प्रयोग नियन्त्रण नगरे ‘जनस्वास्थ्य संकट’ निम्तिन सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया