धनकुटा । पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका सुदृढ बनाउने उद्देश्यसहित कोशी प्रदेशका ४० जना पत्रकारलाई पाँचदिने पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेमा सञ्चालन गरिएको तालिम आइतबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा “कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित तालिममा काेशी प्रदेशका नौ जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।
तालिमका क्रममा सहभागीहरूलाई स्थानीय पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धनका रणनीति, प्रभावकारी समाचार लेखन शैली, प्रचार–प्रसारका आधुनिक माध्यम तथा मोबाइल पत्रकारिता सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ । साथै, धनकुटाका विभिन्न पर्यटकीय स्थलहरूको स्थलगत अवलोकन समेत गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष अनुगमन गरी आवश्यक पूर्वाधार विकास र स्तरउन्नतिमा जोड दिने बताए ।
तालिमबाट पत्रकारहरुको पेशागत दक्षता अभिवृद्धि हुनुका साथै पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले बताए ।

प्रतिक्रिया