ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकामा किसानकै माग र आन्दोलनपछि निर्माण गरिएको बंगुर बिक्री केन्द्र प्रयोगविहीन बन्दा किसान र सरोकारवालाको गैरजिम्मेवारी छताछुल्ल भएको छ ।
सिद्धिचरण नगरपालिका–१२ मा लाग्ने साप्ताहिक हटियामा व्यवस्थित बिक्रीस्थलको अभाव भएको भन्दै किसान र सराेकारवालाहरूले केही समयअघि आन्दोलन गरेका थिए । उनीहरूको दबाबपछि नगरपालिका, बजार व्यवस्थापन समिति र कृषकबीच सहमति भई पाँच लाख रुपैयाँभन्दा बढी लागतमा ढलानसहित ट्रस्टको छाना भएको बिक्री केन्द्र निर्माण गरिएको थियो ।
तर विडम्बना, अहिले त्यही संरचना प्रयोगमा नआएर खालीजस्तै छ । किसान तथा व्यवसायीहरू भने सडक किनारमै बसेर बंगुर बिक्री गरिरहेका छन् । बनाइएको केन्द्रमा भने बंगुरको सट्टा मोटरसाइकल पार्किङ हुन थालेको छ ।
स्थानीय तहले व्यवस्था गरिदिँदा समेत त्यसको प्रयोग नगर्नु किसानकै गैरजिम्मेवारी भएको सरोकारवालाहरू बताउँछन् । “आफ्नै मागमा बनेको संरचना प्रयोग नगर्नु उचित होइन,” एक स्थानीयले टिप्पणी गरे ।
वडा अध्यक्ष तथा बजार व्यवस्थापन समिति संयोजक उमंग श्रेष्ठका अनुसार संरचना प्रयोग गर्न पटक–पटक आग्रह गरिए पनि किसानहरूले अटेर गर्दै आएका छन् । “हामीले धेरैपटक अनुरोध गरेका छौँ, तर अझै कार्यान्वयन हुन सकेको छैन,” उनले भने ।
सडक किनारमा अव्यवस्थित रूपमा बंगुरकाे पाठापाठी बिक्री गर्दा दुर्घटनाको जोखिम बढेकाे छ । यसले किसान मात्र होइन, बजार व्यवस्थापन समिति र सम्बन्धित निकायको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।
स्थानीयवासीहरूका अनुसार नियम पालना गराउन कडाइ नहुँदा यस्ता समस्या दोहोरिने गरेका छन् । सरोकारवाला निकायबीच समन्वयको अभाव र अनुगमनको कमजोरीका कारण सार्वजनिक लगानीको सदुपयोग हुन नसकेको देखिन्छ ।

प्रतिक्रिया