ओखलढुंगाका २१ युवा विदेशमै अस्ताए

सांकेतिक तस्वीर।

ओखलढुंगा । आफ्नाे र परिवारको सुन्दर भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा गएका युवाहरू उतै ज्यान गुमाउने क्रम बढ्दै गएको छ । पछिल्लो चार वर्षको अवधिमा जिल्लाका २१ जना युवाले विदेशमै ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेशिएका ओखलढुंगाका युवाहरूको मृत्यु दर बढ्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षको कार्तिकसम्मको अवधिमा १२ हजार ९२९ जना श्रम स्वीकृति लिएर विदेश गएकोमा २१ जनाको विभिन्न कारणले मृत्यु भएको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुँमागाईका अनुसार सोही अवधिमा ९ जना गम्भीर रूपमा अंगभंग भएका छन् । त्यस्तै एक जनाको उपचार गरिएको छ भने एक जनाको उद्धार गरिएको विवरण सार्वजनिक गरिएको छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ४ जनाको मृत्यु र ३ जना अंगभंग भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ५ जनाको मृत्यु र २ जना अंगभंग भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी ९ जनाको मृत्यु र ३ जना अंगभंग भएको देखिन्छ ।

चालु आर्थिक वर्षको कार्तिकसम्म ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । त्यसपछिको विवरण संकलन भइरहेको अधिकृत हुँमागाईले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अधिकांश घटना कार्यस्थल दुर्घटना, सडक दुर्घटना तथा स्वास्थ्य समस्याका कारण हुने गरेको जनाइएको छ । आवश्यक सीप, भाषा ज्ञान र श्रम सम्झौता सम्बन्धी जानकारी अभाव हुँदा जोखिम अझ बढ्ने गरेको उनको भनाइ छ ।

बोर्डले वैधानिक रूपमा विदेश गएका कामदारको मृत्यु वा दुर्घटना भएमा क्षतिपूर्ति, उपचार सहयोग तथा परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । साथै मृतक तथा घाइते कामदारका सन्तानलाई छात्रवृत्ति दिने व्यवस्था रहेको छ । सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि सम्बन्धित निकायबीच समन्वय र निगरानी अझ सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।