पाथीभरा केबलकार सुरक्षामा खटिएका प्रहरी हटाउन निर्देशन

भिजन समाचार
86
Shares
फाइल तस्वीर।

काठमाडाैँ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन् । प्रहरी मुख्यालयलाई दिइएको निर्देशनअनुसार परियोजनासँग सम्बन्धित सशस्त्र र जनपथ प्रहरी हटाइने भएका हुन् ।

स्थानीयको आवश्यकता, भावना र संविधान विपरीत आयोजना अघि बढाइएको भन्दै मुकुम्लुङ बचाउ अभियानका अभियन्ताहरु र जेनजी अगुवा उपार्जुन चाम्लीङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षण गराइएकै दिन मन्त्रीबाट सम्बन्धित निकायलाई निर्देशन आएको चाम्लीङले बताए । उनका अनुसार उक्त आयोजना आदिवासीहरूको आस्थामाथिको प्रहार हो ।

पाथीभराको फेदी क्षेत्रमा तैनाथ सुरक्षाकर्मी फिर्ता हुने भए पनि तीर्थयात्रीहरूको सेवामा खटिने प्रहरी चौकी भने यथावत रहने जनाइएको छ । दर्शनार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै नियमित सेवा जारी रहने बताइएको छ ।

केबलकार परियोजनाका सञ्चालक व्यवसायी चन्द्र ढकालले पूर्ववर्ती सरकारसँग समन्वय गरी सुरक्षाकर्मी तैनाथ गराएका थिए । ती सुरक्षाकर्मी हटाइने निर्णयपछि स्थानीयवासीमा मिश्रित प्रतिक्रिया देखिएको छ। लामो समयदेखि परियोजनालाई लिएर विवाद हुँदै आएको थियो ।

पाथीभराजस्तो धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रमा जबरजस्ती आयोजना अघि बढाइएको आरोप लगाउँदै स्थानीय किरात धर्मावलम्बीहरूले निरन्तर विरोध जनाउँदै आएका छन् । उनीहरूले सत्ता र शक्तिको दुरुपयोग भएको दाबी गरेका छन् ।

अघिल्लो सरकारका पालामा प्रहरी परिचालनका क्रममा स्थानीयमाथि गोली चलाइएको घटनाले व्यापक आलोचना निम्त्याएको थियो । उक्त घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग अझै कायम छ ।

बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएसँगै स्थानीयले न्यायको अपेक्षा गरेका छन् । फागुन २१ को निर्वाचनअघि शाहले पाथीभरा क्षेत्रको भ्रमण गर्दा स्थानीयले जंगल फँडानीबारे गुनासोसमेत राखेका थिए ।

यसैबीच, पाथीभराको पर्यावरणीय महत्व बोकेको जंगल फँडानीका लागि वन मन्त्रालयबाट फर्जी कागजात प्रयोग गरिएको आरोपसमेत सार्वजनिक भएको छ । यस प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।