ओखलढुंगा । अनलाइनखबरले सार्वजनिक गरेको ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा ओखलढुंगाकी पदमकुमारी गुरुङ पर्न सफल भएकी छन् । उद्यम क्षेत्रबाट गुरुङ प्रभावशाली महिलाको सूचिमा परेकी हुन् ।
राजनीति, समाज, कला-साहित्य, युवा तथा खेलकुद र उद्यम क्षेत्रमा उल्लेखनीय योगदान दिएका ५० महिलालाई समेटिएको सूची अनलाइनखबरले सार्वजनिक गरेको छ । देशभरबाट प्राप्त सयौं नाममध्ये योगदान, प्रभाव र प्रेरणाका आधारमा अन्तिम सूची तयार पारिएको जनाइएको छ ।
पुख्र्यौली सीपलाई आधुनिक उद्यममा रूपान्तरण गर्दै पदमकुमारी गुरुङले ओखलढुंगाकाे रुम्जाटारमा दर्जनाैं महिलालाई स्वरोजगार बनाएकी छन् । झण्डै एक हजार भेडा पालन गर्दै उनले उत्पादन गरेको राडीपाखी युरोप, अष्ट्रेलिया र चीनसम्म निर्यात हुँदै आएको छ ।
राडीपाखीले प्रसिद्ध रुम्जाटार पुग्ने जो–कोहीले डाँडापाखामा चरिरहेका सेता भेडाका बगाल र तानमा बसेर राडीपाखी बुन्दै गरेका महिलाहरूको दृश्य सजिलै देख्न सक्छन् । यस सफल उद्यमको नेतृत्व ६५ वर्षीया गुरुङले गर्दै आएकी छन् ।
१४ वर्षको उमेरदेखि आमाको सिको गर्दै राडीपाखी बुन्न थालेकी गुरुङ अहिले स्थापित उद्यमी तथा कुशल प्रशिक्षकको रूपमा चिनिन्छिन् । एक समय घरायसी प्रयोजनमा सीमित रहेको राडीपाखीलाई उनले आयआर्जनको माध्यम मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर चिनाउन सफल भएकी छन् ।
हाल उनीसँग करिब ७०० भेडा रहेका छन् । ऊन कात्ने, धागो बनाउनेदेखि राडीपाखी उत्पादन र बजार व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रिया उनी आफैंले नेतृत्व गर्दै आएकी छन् । स्थानीयस्तरमा राडीपाखी उत्पादन संघ तथा भेडा विकास समितिको अध्यक्ष समेत रहेकी गुरुङले आफ्नो जीवन नै परम्परागत उद्यमको प्रवद्र्धनमा समर्पित गरेकी छन् ।

प्रतिक्रिया