ओखलढुंगा । गृह मन्त्रालयद्वारा गरिएको दोस्रो त्रैमासिक मूल्याङ्कनमा ओखलढुंगा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये ३६औँ स्थानमा परेको हो ।
कात्तिकदेखि पुससम्मको अवधिमा गरिएको मूल्याङ्कनअनुसार ओखलढुंगाले विभिन्न सूचकहरूमा औसत प्रदर्शन गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको नेतृत्वमा प्रशासनले सेवा प्रवाह, अनुगमन तथा समन्वयका क्षेत्रमा काम गरिरहेको भए पनि समग्र सुधारका लागि अझै प्रयास आवश्यक देखिएको मूल्याङ्कनले संकेत गरेको छ ।
नीति, योजना, अनुगमन तथा सेवा प्रवाहसँग सम्बन्धित मापदण्डहरूमा केही सुधार देखिए पनि समग्र अंक बढाउन थप प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ । स्रोतसाधनको अभाव, दुर्गम भौगोलिक अवस्था तथा जनशक्ति व्यवस्थापन जस्ता चुनौतीका बीच प्रशासनले सेवा सञ्चालन गर्दै आएको छ ।
२० पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले १६.९३ प्रतिशत अंक प्राप्त गरेको कार्यालयका सूचना अधिकारी तथा प्रशासनिक अधिकृत मनोजकुमार मगरले जानकारी दिए ।
मूल्याङ्कन सूचीमा १९.५ अंकसहित मनाङ जिल्ला पहिलो स्थानमा रहँदा संघीय राजधानी काठमाडौं भने अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै अन्तिम स्थानमा सीमित भएको छ ।
ओखलढुंगाको यो अवस्थाले सेवा प्रभावकारिता बढाउन थप सक्रियता, पारदर्शिता र सुशासनतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया