कुलपति राईद्वारा धरान स्रष्टा पार्क उद्घाटन, १३ स्रष्टाको प्रतिमा अनावरण

भिजन समाचार
32
Shares

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ‘स्रष्टा पार्क’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहका बीच उद्घाटन तथा प्रतिमा अनावरण गरेका छन् । भाषा, साहित्य र कलाका क्षेत्रमा धरानमा रहेर विशिष्ट योगदान पुर्‍याएका १३ जना स्मृतिशेष स्रष्टाको प्रतिमा समेत सो अवसरमा अनावरण गरिएको छ ।

प्रतिमा अनावरण गरिएका स्रष्टाहरूमा छविलाल पोख्रेल, महानन्द सापकोटा, गमबहादुर लम्जेल (लम्जेल सङ्घर्षशील), रामानन्द घराल, जगदीश नेपाली, कर्ण मास्के, मानबहादुर शाक्य, बेणु आचार्य, टङ्क घिमिरे, जितमान राई, कृष्ण पाख्रिन, गोविन्द विकल र विमल गुरुङ रहेका छन् ।

कार्यक्रममा बोल्दै कुलपति राईले दीर्घसेवी स्रष्टाहरूको प्रतिमा निर्माणले उनीहरूको योगदानलाई कालान्तरसम्म जीवित राख्ने बताए । उनले धरानले स्रष्टा पार्क निर्माण र प्रतिमा स्थापना गरेर ऐतिहासिक कार्यको थालनी गरेको उल्लेख गरे ।

कार्यक्रममा धरान उपमहानगरपालिका–१३ का वडा अध्यक्ष नेत्र काफ्लेले स्रष्टा पार्क स्थापना र प्रतिमा अनावरणबारे विस्तृत जानकारी दिएकाे प्राज्ञ चेतनाथ धमलाले बताए ।