ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ जयरामघाट र ७ को हर्कपुरमा बजार अनुगमन गरिएको छ । अनुगमन गर्दा १६ हजार भन्दा बढीको उपभोग्य समय सकिएको सामाग्री फेला पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत मनोज कुमार मगरको संयोजकत्वमा बिहीबार घरेलु तथा साना उद्योग कार्यालय, मानेभन्ज्याङ गाउँपालिका, प्रहरी, पत्रकार र सरोकारवाला निकायले सयुक्त बजार अनुगमन गर्दा १६ हजार ३२० रुपैयाँ बराबरको अखाद्य सामाग्री फेला परेको हो ।
त्यस क्षेत्रका १२ वटा खाद्यान्न तथा किराना पसल र होटलहरुमा अनुगमन गर्दा चाउचाउ, बिस्कुट, कुरकुरे, बेसार, चिसो पेय पदार्थहरु म्याद गुज्रिएको अवस्थामा फेला परेकोले जफत गरि नष्ट गरिएको प्रशासकीय अधिकृत मगरले बताए ।
सदरमुकाम देखि गाउँटोलसम्मै बजार अनुगमनलाई प्रशासनले तिब्रता दिइरहेको बताउँदै म्याद गुज्रिएका सामानले स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भएकाले त्यस्ता सामान किनबेच नगर्न व्यापारी तथा उपभोक्तामा प्रशासनले आग्रह गरेको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री गर्ने, मूल्य सूची नराख्ने, दर्ता तथा नवीकरण नगरेका पसललाई पटक पटक यस्ता गतिविधि दोहोरिएको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया