ओखलढुंगामा पछिल्लो समय कुकुरको टोकाइका घटना बढ्दै गएका छन् । विशेषगरी घरमै पालिएका कुकुरबाटै जोखिम बढ्दै गएको देखिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतको पहिलो हप्तासम्म जिल्ला अस्पताल रुम्जाटारमा ७१ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । अस्पतालका सूचना अधिकारी कुमार प्रसाद दाहालका अनुसार उक्त अवधिमा कुल २३१ डोज रेबिज खोप प्रयोग भएको छ ।
उनका अनुसार प्रत्येक महिना औसतमा १० देखि १२ जना कुकुरको टोकाइपछि उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । उपचारका लागि आउनेमध्ये अधिकांशले घरपालुवा कुकुरले टोकेको गुनासो गर्ने गरेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार कुकुरलाई नियमित खोप नलगाउने, खुला रूपमा छाडेर राख्ने तथा बालबालिकासँग नजिक सम्पर्कमा राख्ने जस्ता कारणले टोकाइको जोखिम बढेको हो । पछिल्लो समय छाडा कुकुरभन्दा घरपालुवा कुकुरले टोक्ने घटना उल्लेख्य रूपमा बढ्दै गएको अस्पतालले जनाएको छ ।
कुकुरले टोकेपछि तत्काल घाउ साबुनपानीले राम्ररी धुने र ढिलाइ नगरी स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । साथै घरपालुवा कुकुरलाई नियमित खोप लगाउने र सुरक्षित रूपमा राख्न समेत सर्वसाधारणलाई सचेत गराइएको छ ।

प्रतिक्रिया