सिल गरिएको जडीबुटी उद्योग अझै सञ्चालनमा आएन


ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालनमा रहेको जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आएको छैन ।

आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नभएको भन्दै सिल गरिएको उक्त उद्योग तोकिएका प्रक्रिया पूरा नभएकै कारण पुनः सञ्चालनमा नआएको हो ।

डिभिजन वन कार्यालय ओखलढुंगाका अनुसार उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रतिवेदनहरू अझै प्राप्त हुन बाँकी रहेका छन् । कार्यालय प्रमुख मनाराज राईले वन क्षेत्रसँग सम्बन्धित दूरी कायम प्रतिवेदन तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी हुने प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन नआउँदासम्म सञ्चालन अनुमति दिन नसकिने बताए ।

एक महिना अघि डिभिजन वन कार्यालयले चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिले आवश्यक मापदण्ड र प्रचलित कानुन अनुसारका कागजात पेश नगरेको भन्दै उद्योग सिल गरेको थियो ।

यता कम्पनीका व्यवस्थापक हरि श्रेष्ठले भने आवश्यक कागजात पेश गरिसकेको दाबी गरेका छन् । उनका अनुसार मन्त्रालयबाट प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी प्रतिवेदन एक महिनाभित्र प्राप्त हुने प्रक्रियामा रहेको छ । प्रतिवेदन आएलगत्तै उद्योग पुनः सञ्चालनमा आउने उनले बताए ।

डिभिजन वन कार्यालयले भने सबै कानुनी प्रक्रिया र मापदण्ड पूरा भएपछि मात्र उद्योग सञ्चालनबारे निर्णय गरिने जनाएको छ । हाल उद्योग कहिले सञ्चालनमा आउने भन्ने विषय अझै अन्योलमै रहेको छ ।