ओखलढुंगामा एसईई दिने विद्यार्थी संख्या बर्सेनि घट्दो


ओखलढुंगामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुंगाको तथ्याङ्क अनुसार चार वर्षको अवधिमा परीक्षार्थी संख्या उल्लेखनीय रूपमा घटेको हो ।

चार वर्ष अघि २०७९ सालमा २ हजार ९३७ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । त्यसपछिका वर्षहरूमा यो संख्या क्रमशः घट्दै गएको देखिन्छ । २०८० मा २ हजार ६३१ जना, २०८१ मा २ हजार २२० जना सहभागी भएका थिए भने चालु वर्ष २०८२ मा परीक्षार्थी संख्या घटेर २ हजार २ सय १५ मा सीमित भएको छ । यसरी हेर्दा चार वर्षमा करिब ७ सय विद्यार्थीले कमी आएको तथ्याङ्कले देखाउँछ ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुरेश ढकालका अनुसार विद्यार्थी संख्या घट्नुका मुख्य कारणहरूमा बसाइँसराइ, जन्मदरमा आएको कमी र उच्च शिक्षाका लागि शहरतर्फ आकर्षण बढ्नु रहेका छन् । “आधारभूत तहदेखि नै विद्यार्थी संख्या घट्दै जाँदा त्यसको प्रत्यक्ष असर एसईई परीक्षार्थीमा परेको छ,” उनले बताए ।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । जिल्लाभर ११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शिक्षाविद् युवराज धमलाले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा अभाव, रोजगारीका सीमित अवसर तथा शिक्षा प्रणालीमा सुधारको आवश्यकता विद्यार्थी घट्नुका प्रमुख कारण भएको बताए । उनका अनुसार पुरानो शिक्षा ऐनमै आधारित प्रणालीले पनि अपेक्षित परिणाम दिन सकेको छैन, त्यसैले समयानुकूल परिमार्जन आवश्यक रहेको उनले जोड दिए ।

स्थानीय तह, सरकार तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी ग्रामीण क्षेत्रमा शिक्षा सुधार, रोजगारी सिर्जना र बसाइँसराइ नियन्त्रणतर्फ ध्यान दिन सके विद्यार्थी संख्या घट्ने क्रम रोक्न सकिने विज्ञहरूको सुझाव छ । साथै, शिक्षक, अभिभावक र समुदायले स्थानीय विद्यालयप्रति विश्वास बढाउँदै शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।