हावाहुरीले २८ लाख ८८ हजार बराबरको कृषिबालीमा क्षति


पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुंगामा कृषिक्षेत्रमा करिब २८ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईका अनुसार तरकारी खेतीका लागि बनाइएका ३९ वटा संरचना तथा प्लास्टिक टनेलमा क्षति पुगेको हो । टनेल लगायत ३९ वटा कृषि संरचनामा भत्किनु तथा हावाले उडाउँदा मात्रै करिब २४ लाख ४० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

त्यस्तै, ०.६१ मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब ४८ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । हावाहुरीका कारण टनेल उड्दा भित्र लगाइएका गोलभेँडा, काउली, बन्दा र खुर्सानी लगायतका बालीमा समेत असर परेको छ ।

व्यावसायिक तरकारी खेती गर्ने किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् । मानेभन्ज्याङ गाउँपालिका–४ पंखुका किसान नारायण प्रसाद राईले व्यक्तिगत तथा अनुदानबाट बनाइएका टनेल हावाले उडाउँदा ठूलो क्षति व्यहोर्नुपरेको बताए । उनले सरकार र सरोकारवाला निकायबाट राहत पाएमा सहज हुने उल्लेख गरे ।

हालसम्मको तथ्यांक अनुसार २९ जना कृषकका तरकारी खेती तथा संरचनामा क्षति पुगेको छ । सिद्धिचरण नगरपालिका, मानेभन्ज्याङ गाउँपालिका, मोलुङ गाउँपालिका र चिशंखुगढी गाउँपालिका लगायतका क्षेत्रमा हावाहुरी र वर्षाले बढी क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

यो प्रारम्भिक विवरण मात्र भएकाले क्षतिको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ । प्रभावित किसानहरूले राहत र पुनःस्थापनाको माग गरेका छन् । तर अधिकांश कृषकले बाली बिमा नगरेका कारण क्षतिपूर्ति पाउन समस्या रहेको जनाइएको छ । केन्द्रले क्षतिको विस्तृत विवरण संकलन गरी राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने जनाएको छ ।