ओखलढुंगाको मोलुङ गाउँपालिका–८ राँगादिपमा अपाङ्गता समावेशीकरण, नेतृत्व क्षमता विकास तथा लेखन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । राँगादिपस्थित स्वास्थ्य चौकीमा वडा स्तरीय मिलिजुली समूहको आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको हो ।
वडा नं. ८ को एक लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिममा अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारसहित करिब २२ जनाको सहभागिता रहेको वडा अध्यक्ष सुधिर राईले जानकारी दिए ।
उनका अनुसार तालिममा अपाङ्गताको प्रकार, समावेशीकरणको अवधारणा, नेतृत्व विकास तथा प्रस्तावना लेखन सीपबारे प्रशिक्षण दिइँदैछ ।
तालिमको उद्घाटन गर्दै मोलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष मणिराज राईले अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारको सशक्तीकरणका लागि यस्ता तालिम प्रभावकारी हुने बताए ।
तालिममा जनस्वास्थ्य निरीक्षक मित्रमिनु ढकाल र अपाङ्गता सहजकर्ता रमा तामाङले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन् ।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र सामाजिक समावेशीकरणमा टेवा पुग्ने विश्वास गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया