आलु र बाख्रा जोन सञ्चालन समन्वय समिति पुनर्गठन

भिजन समाचार
138
Shares

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाले आलु र बाख्रा जोन सञ्चालन समन्वय समिति पुनर्गठन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि आलु जोनतर्फ अमराज मगर र बाख्रा जोनतर्फ कमला राईको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो ।

आलु जोन सञ्चालन समन्वय समितिमा संयोजक अमराज मगरसँगै डम्बर कुमारी मगर, धनेश कुमार घिसिङ, बालासरी राई, छिरिङमा शेर्पा, बिर्ख बहादुर तामाङ, सर्मिला सुनुवार, ङाङसारा शेर्पा र टिकामाया श्रेष्ठ सदस्य रहेका छन् ।

त्यस्तै, बाख्रा जोन सञ्चालन समन्वय समितिको संयोजकमा कमला राई चयन भएकी छन् । समितिमा सन्तोष पराजुली, चित्र बहादुर श्रेष्ठ, इन्द्रमाया मगर, खड्ग बहादुर मगर, नेत्रध्वज सुनुवार, अनिता राई, माधव प्रसाद फुयाँल र गोमा कुमारी खत्री कार्की सदस्य रहेका छन् ।

पुनर्गठित समितिलाई शुभकामना तथा अभिमुखीकरण गर्दै एकाई प्रमुख एवं कृषि अधिकृत हेम बहादुर आले मगरले जोन क्षेत्रलाई लक्ष्यअनुसार प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्नुपर्ने बताएका छन् ।

समितिले जोन क्षेत्रमा उपलब्ध प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्न सहयोग गर्ने, जोन सञ्चालन अवधिको कार्ययोजना निर्माणमा एकाइलाई सहजीकरण गर्ने लगायतका भूमिका निर्वाह गर्नेछ। साथै, कृषक, कृषक समूह, कृषि सहकारी, उद्यमी तथा दर्ता भएका कृषि सम्बन्धी संस्था तथा फर्महरूको विवरण अद्यावधिक गर्न र कृषकहरूको माग संकलन गरी परियोजना कार्यान्वयन एकाइमा पेश गर्न पनि सहजीकरण गर्नेछ ।

यसैगरी, जोन क्षेत्रमा प्रविधि प्रसार, उत्पादित वस्तुको बजारीकरण तथा उद्योगसँग जोड्न सहयोग गर्ने, सामूहिक, सहकारी तथा चक्लाबन्दी खेती र पशुपालन प्रवर्द्धनमा सहजीकरण गर्ने जिम्मेवारी पनि समितिको रहनेछ ।

परियोजना अन्तर्गत निर्माण गरिएका पूर्वाधारहरूको विकास, उपयोग र संरक्षणमा समन्वय गर्दै सरोकारवालाबीच सहकार्य बढाउने कार्य समेत समितिले गर्ने एकाईले जनाएको छ ।