ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका–१ काे कुन्तादेवीका युवाहरूले आकस्मिक अवस्थामा रगत अभाव हुन नदिन रक्तदाता समूह गठन गरेका छन् ।
स्थानीय युवाहरूको स्वतःस्फूर्त सक्रियतामा गठन गरिएको उक्त समूहमा हालसम्म १३९ जना युवा आबद्ध भइसकेका छन् । समूहका सदस्य माधव कार्कीका अनुसार इच्छुक युवाहरू अझै पनि समूहमा जोडिने क्रम जारी छ ।
बिरामीलाई आपतकालीन अवस्थामा तुरुन्त रगत उपलब्ध गराउने उद्देश्यले समूहमा सहभागी युवाहरूको नाम, ठेगाना, रक्त समूह र सम्पर्क नम्बर संकलन गरिएको छ । यसले आवश्यक पर्दा छिटो समन्वय गरी रक्तदान गर्न सहज हुने विश्वास गरिएको छ ।
ग्रामीण क्षेत्रमा रगत अभावका कारण बिरामीले समयमै उपचार नपाउने तथा ज्यानसमेत जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै युवाहरूले यस्तो अभियान थालेका हुन् ।
स्थानीयवासीका अनुसार युवाहरूको यो पहल सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको छ । जिल्लामा ब्लड बैंककाे अभाव छ ।

प्रतिक्रिया