ओखलढुंगामा सोमबार दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीका कारण छ वटा घर र दुई विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक विवरण अनुसार हावाहुरीले घर तथा विद्यालयका छाना उडाउँदा करिब ९ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार हावाहुरीले घर, विद्यालय भवन, टहरा तथा गोठमा समेत क्षति पु¥याएको छ । साथै, रुख ढलेपछि जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित बनेका छन् ।
हावाहुरीबाट सिद्धिचरण नगरपालिका–४ रुम्जाटार, वडा नं. २ ठुलाछाप, वडा नं. ११ मिलनचोक, सुनकोशी गाउँपालिका–४ र ५, मोलुङ गाउँपालिका–१ लगायत क्षेत्रमा घरमा क्षति पुगेको छ ।
यस्तै, सुनकोशी गाउँपालिका–५ डाडाखर्कस्थित चौतारा माध्यमिक विद्यालय र वडा नं. ६ पारस्थित दामति माध्यमिक विद्यालयको छाना उडेको प्रहरीले जनाएको छ ।
सुनकोशी गाउँपालिका–४ चिउरीबोट क्षेत्रमा हावाहुरीले ठूलो क्षति पु¥याएको छ । स्थानीयका अनुसार सुनकोशी–४ हुँदै वडा नं. १ सम्म जोडिएको विद्युत लाइनका चार वटा पोल ढलेका छन् । स्थानीय जंगबहादुर राईका अनुसार विधुतको पोल र रुख ढल्दा चिउरीबोटसम्म ल्याइएको खानेपानीका पाइपमा क्षति पुगेपछि करिब ३४ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रहरीका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण वडा कार्यालयमार्फत संकलन भइरहेको छ । विभिन्न स्थानबाट थप विवरण आउने क्रम जारी रहेकाले क्षतिको आकार अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच, अवरुद्ध सडक खुलाउने तथा विद्युत सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकायले काम थालेका छन् ।
प्रहरी चाैकी पलापुका अनुसार हावा हुरि संगै परेको चटयाङको झटका लागि जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका-२ टाकिटारका बल बहादुर तामाङको गोठ घरमा बाधि राखेको एउटा भैंसी मरेको छ ।

प्रतिक्रिया