ओखलढुंगामा खाना पकाउने ग्यासको अभाव


पछिल्लो समय ओखलढुंगामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो बढ्दै गएको छ । केही सातायता बजारमा ग्यास सहज रूपमा नपाइने अवस्था देखिएपछि उपभोक्ताहरूले ग्यास खोज्दै हिँड्नुपर्ने स्थिति बनेको बताएका छन् ।

विश्व बजारमा इन्धन आपूर्तिमा देखिएको अस्थिरताका कारण यसको प्रभाव नेपाली भान्सासम्म पर्न थालेको बताइन्छ । विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको र त्यसको प्रभाव ग्यास आपूर्तिमा समेत देखिन थालेको जनाइएको छ ।

यता सम्बन्धित निकायले भने जिल्लामा तत्कालका लागि ग्यास अभाव नरहेको दाबी गरेका छन् । ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केका अनुसार हाल जिल्लामा करिब एक महिनासम्म पुग्ने गरी ग्यास आयात भइसकेको छ । आवश्यक परिमाणमा ग्यास नियमित आपूर्ति भइरहेकोले तत्काल अभावको अवस्था नरहेको उनले बताए ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पनि जिल्लामा खाना पकाउने ग्यास तथा अन्य इन्धनको अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन प्रशासनले सूक्ष्म संयन्त्रमार्फत निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

उनका अनुसार बजारमा छड्के अनुगमन समेत गरिनेछ । कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित व्यापारी तथा व्यवसायीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत उनले दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मंग्रातीले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै व्यापारीलाई बिक्री गरिएको ग्यासको उपभोक्ता विवरण अनिवार्य रूपमा अभिलेख राख्न निर्देशन दिएका छन् ।

यसैबीच नेपाल आयल निगमको निर्णयअनुसार ओखलढुंगामा पनि आइतबारदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरिएको ओखलढुंगा उद्योग वाणिज्य संघले जनाएको छ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो व्यवस्था लागू गरिएको संघले जनाएको छ ।