अस्पतालमा बिरामीको मृत्यु प्रकरणः धर्ना र तालाबन्दी, सेवा प्रभावित

भिजन समाचार
106
Shares

ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका क्रममा सुनकोशी गाउँपालिका–७ का ५४ वर्षीय यज्ञबहादुर कटवालको मृत्यु भएपछि विवाद चर्किएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीको आरोप लगाउँदै फागुन २८ गते शान्तिपूर्ण धर्ना र फागुन २९ गते आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

आफन्तका अनुसार उपचारको क्रममा समयमै अन्यत्र रेफर नभएपछि विरामीको मृत्यु भएको जनाइएको छ । थप उपचारका लागि काठमाडौंबाट हेलिकोप्टरसमेत बोलाइएको थियो, तर हेलिकोप्टर आइनपुग्दै बिरामीको मृत्यु भइसकेको थियो । घटनापछि अस्पतालको लापरबाहीले विरामीको ज्यान गएको आफन्तको आरोप छ ।

मृतकका आफन्तहरुले अस्पताल परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम थालेपछी अस्पताल कर्मचारी संगठनले असुरक्षा महसुस गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेको जनाएको छ । अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकको अथक प्रयासका बाबजुद बिरामीको मृत्यु भएको र सो सम्बन्धमा बिरामीका आफन्तहरुबाट यस अस्पतालमा धर्ना कार्यक्रम तथा चिकित्सक लगायत स्वास्थ्य कर्मचारीलाई भौतिक आक्रमणको समेत चुनौती दिइएको हुँदा असुरक्षाको महसुस गरी आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने संगठनले विज्ञप्ती मार्फत जनाएको छ ।

अस्पतालमा विरामीको मृत्यु भएको घटना बारे प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा पीडित परिवार र अस्पताल प्रशासनबीच बैठक बसेको थियो ।

बैठकपछि घटनाको निष्पक्ष छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । सहमति अनुसार मृतकको शव पोष्टमार्टम गरिने र त्यसपछि आफन्तले बुझ्ने भएका छन्। अस्पताल प्रशासनले पोष्टमार्टम र काजक्रियासम्बन्धी खर्च मानवीय आधारमा व्यहोर्ने सहमति भएको थियो । बैठकपछी आफन्तले धर्ना र विराेधका कार्यक्रम थालेका हुन् ।

यस विषयमा सत्य तथ्य छानविनका लागि सराेकारवालाहरुले माग गरेका छन् ।