अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, छानबिन गर्न समिति गठन

भिजन समाचार
1.4k
Shares

ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

जिल्लाको सुनकोशी गाउँपालिका–७ निवासी ५४ वर्षीय यज्ञबहादुर कटवाल देब्रे कोखा दुख्ने समस्याका कारण फागुन २६ गते अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा फागुन २७ गते दिउँसो करिब ३ बजे उनको मृत्यु भएको थियो ।

बिरामीको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको भन्दै मृतकका आफन्तले आरोप लगाएका छन् । आफन्तले गुनासो गरेपछि बिहीबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल गरिएको थियो । छलफलपछि घटनाको निष्पक्ष छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्ने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोजकुमार मगरको संयोजकत्वमा गठित समितिमा रुम्जाटार अस्पतालका एक चिकित्सक, सुनकोशी गाउँपालिका–७ का वडा अध्यक्ष, स्थानीय प्रतिनिधि विरेंद्र कटवाल तथा ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेल सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

छलफलका क्रममा अस्पताल प्रशासनले उपचार प्रक्रियामा पारदर्शिता अपनाउने तथा बिरामीका आफन्तलाई उपचारका सबै चरणबारे जानकारी गराउँदै समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमतिअनुसार मृतकको शव पोष्टमार्टम गरिनेछ भने पोष्टमार्टम तथा काजक्रिया लगायतका खर्च मानवीय आधारमा अस्पताल प्रशासनले आन्तरिक छलफलपछि व्यहोर्ने सहमति भएको छ । पोष्टमार्टमपछि मृतकका आफन्तले शव बुझ्ने सहमति पनि गरिएको छ ।

छानबिन प्रतिवेदनमा अस्पतालको लापरबाही वा कमजोरी देखिए कानुनबमोजिम मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

मृतककी श्रीमती गोमा कटवालले अस्पतालले बिरामीको उचित हेरचाह नगर्दा तथा समयमै अन्यत्र उपचारका लागि रेफर नगर्दा आफ्ना श्रीमानको ज्यान गएको आरोप लगाएकी छन् । उनका अनुसार थप उपचारका लागि काठमाडौंबाट हेलिकोप्टरसमेत बोलाइएको थियो । तर हेलिकोप्टर आइपुग्दासम्म श्रीमानको मृत्यु भइसकेको भन्दै यसले परिवारलाई मानसिक पीडासँगै आर्थिक भारसमेत थपिएको उनले बताइन् ।

अस्पतालका निर्देशक डा. रोशन खरेलले भने अस्पतालले बिरामीको उपचारका लागि प्रयास जारी राखे पनि बचाउन नसकिएको बताएका छन् । उनले छानबिन समितिको प्रतिवेदनका आधारमा अस्पतालको कुनै कमजोरी देखिए कानुनअनुसार जिम्मेवारी लिन अस्पताल प्रशासन तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य सेवामा पारदर्शिता, जिम्मेवारी र जवाफदेहिता बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैबीच, प्रारम्भिक सहमतिपछि शवको पोष्टमार्टम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिएका छन् ।