ओखलढुंगा जिल्लामा मदिरा बिक्री गर्न निषेध, उल्लंघन गरे कारबाही हुने

भिजन समाचार
126
Shares

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले ओखलढुंगामा मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जारी गरेको सूचनाअनुसार फागुन १४ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म जिल्लाभर मादक पदार्थ सम्बन्धी सम्पूर्ण गतिविधि निषेध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत रोशन श्रेष्ठका अनुसार निर्वाचन अवधिभर होटल, रेष्टुरेन्ट, मदिरा पसल तथा अन्य व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायीहरूले उक्त निर्णयको अनिवार्य पालना गर्नुपर्नेछ ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

सूचना विपरीत मदिरा बिक्री–वितरण, ओसारपसार वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रशासकीय अधिकृत श्रेष्ठले सबै राजनीतिक दल, उम्मेदवार, व्यवसायी तथा सर्वसाधारणलाई नियमको पूर्ण पालना गरी निर्वाचनलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।