आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण सुरु गरिएको छ । निष्पक्ष, स्वतन्त्र र व्यवस्थित निर्वाचन सम्पन्न गराउने उद्देश्यले जिल्ला समन्वय समितिको सभाहलमा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार मतदान केन्द्रमा हुने सम्पूर्ण प्रक्रिया त्रुटिरहित बनाउन तालिम प्रदान गरिएकाे बताए । उनका अनुसार निर्वाचन आयोगको एकरूप ढाँचाअनुसार प्रशिक्षण भइरहेको छ ।
पहिलो दिन सिद्धिचरण नगरपालिका, मोलुङ, मानेभन्ज्याङ र चिशंखुगढी गाउँपालिकामा खटिने अधिकृतहरूलाई तालिम दिइएको छ भने शुक्रबार खिजीदेम्बा, लिखु, सुनकोशी, चम्पादेवी गाउँपालिका तथा जगेडा कर्मचारीलाई प्रशिक्षण प्रदान गरिनेछ ।
तालिममा मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतगणना तथा सम्भावित विवाद समाधानका विषय समेटिएका छन् । प्रशिक्षित कर्मचारीलाई फागुन १८ गतेभित्र निर्वाचन सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पठाइने तयारी गरिएको छ ।

प्रतिक्रिया