ओखलढुंगा जिल्लामा दुर्गम भौगोलिक अवस्थाका कारण समयमै उपचार नपाउँदा ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै आठ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ जनाको हवाई उद्धार गरिएको हो । ज्यान जोखिममा रहेका ती महिलालाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि तत्काल स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ ।
यो सेवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालित दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार तथा उपचार कार्यक्रममार्फत प्रदान गरिएको हो ।
प्रशासनका अनुसार स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र सूचनाका आधारमा मन्त्रालय र गृह मन्त्रालयबीच समन्वय गरी तत्काल हवाई उद्धार गरिने व्यवस्था रहेको छ ।
दुर्गम गाउँमा आकस्मिक जटिल अवस्था सिर्जना हुँदा सडक पहुँच र स्वास्थ्य सेवा अभावका कारण मातृमृत्यु दर बढ्ने जोखिम रहने गर्दछ। यस्ता अवस्थामा तत्काल हवाई उद्धारले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको प्रशासनको दाबी छ ।
जिल्लामा मातृस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रम प्रभावकारी बन्दै गएको जनाइएको छ। स्थानीयवासीले समेत दुर्गम क्षेत्रमा जीवनरक्षा गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया