ओखलढुंगामा नमुना मतदान अभ्यास

भिजन समाचार
30
Shares

आगामी फागुन २१ गते हुने निर्वाचनलाई सुरक्षित, मर्यादित र सफलतापूर्वक सम्पन्न गराउने उद्देश्यले ओखलढुंगामा नमुना मतदान तथा सुरक्षा पूर्व अभ्यास गरिएको छ ।

सिद्धिचरण नगरपालिका–१२ स्थित जिसस नजिक रेडक्रस प्रांगणमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा उक्त अभ्यास गरिएको हो । सुरुमा मतदान प्रक्रिया अघि बढिरहेको दृश्य प्रस्तुत गरिएको थियो । मतदाताहरू लामबद्ध रूपमा प्रक्रियागत ढंगले मतदानमा सहभागी भएका थिए ।

अभ्यासका क्रममा एक व्यक्तिले फर्जी मतदान गर्न खोजेको भन्दै विवाद सिर्जना भएको परिदृश्य देखाइएको थियो । विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएपछि सुरक्षामा खटिएको नेपाल प्रहरीले स्थिति नियन्त्रणको प्रयास गरेको थियो । अवस्था जटिल बन्दै गएपछि थप प्रहरी परिचालन गरिएको र सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको अभ्यासमा देखाइएको थियो ।

प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज तथा हवाई फायर गरी भीड नियन्त्रण गर्ने प्रयास गरे पनि सुरक्षा चुनौती बढ्दै गएको दृश्य प्रस्तुत गरिएको थियो । मतदान स्थल, खटिएका कर्मचारी र मतपेटिकाको सुरक्षामा थप जोखिम देखिएपछि अन्ततः नेपाली सेना परिचालन गरिएको थियो ।

सेनाले चेतावनी दिएपछि पनि भीड अटेरी बनेको अवस्थामा घुँडामुनि गोली प्रहार गरिएको दृश्य समेत अभ्यासमा समेटिएको थियो । त्यसपछि भीड तितरबितर भएको, घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको तथा स्थिति सामान्य भएपछि सर्वदलीय छलफलमार्फत सहमति जुटाई पुनः मतदान सुचारु गरिएको अभ्यासमा देखाइएको थियो ।

मतदान सम्पन्न भएपछि तीनवटै सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मतपेटिका मतगणना स्थलतर्फ सुरक्षित रूपमा लगिएको प्रदर्शन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले यस्ता अभ्यासले सम्भावित जोखिमको सामना गर्न तयारी मजबुत हुने बताए । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार यस किसिमको पूर्वअभ्यासले निर्वाचनका क्रममा आउन सक्ने चुनौती समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित, सुरक्षित र विश्वसनीय बनाउन सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने उद्देश्यले उक्त अभ्यास गरिएको जनाइएको छ ।