सहकारीलाई पारदर्शी बनाउनसिद्धिचरण नगरपालिकाको जोड

भिजन समाचार
90
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर क्षेत्रमा क्रियाशील १० वटा सहकारी संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सहभागी सहकारीहरूले आफ्ना संस्थाको आय–व्यय विवरण, वार्षिक प्रगति प्रतिवेदन, सञ्चालन भइरहेका कार्यक्रम तथा देखिएका समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।

अन्तरक्रियाका क्रममा सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन नियमित लेखापरीक्षण, पारदर्शी वित्तीय व्यवस्थापन, सदस्य सहभागिता अभिवृद्धि तथा सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने विषयमा व्यापक छलफल भएको थियो ।

केही सहकारी संस्थाले पूँजी अभाव, ऋण असुलीमा समस्या तथा दक्ष जनशक्तिको कमी जस्ता चुनौती औंल्याएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख केदारबाबु बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भीष्मराज भट्टराई र महिला, बालबालिका शाखा प्रमुख सरिता तामाङले सहकारीहरूलाई नियमसम्मत ढंगले सञ्चालन हुन, सदस्यको विश्वास कायम राख्न र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै देखिएका समस्याको समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको जनाइएको छ ।

सहभागीहरूले कार्यक्रमले सहकारी संस्थाबीच अनुभव आदान–प्रदान गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने वातावरण तयार भएको बताएका छन् ।

यसैबीच, आगामी फागुन २४ गते मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको तयारीबारे पनि छलफल भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १०, सहास नेपाल र ग्रामीण महिला जागरणको आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालयसहितको सहकार्यमा महिला विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।