१२ मतदानस्थल अति संवेदनशील


आगामी निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको हो ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा ८४ मतदानस्थल र १५८ मतदान केन्द्र कायम छन् । विगतका निर्वाचनमा देखिएका हिंसात्मक घटना, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार पहुँचको अवस्था तथा सम्भावित सुरक्षा जोखिमका सूचकका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

उनका अनुसार अति संवेदनशील तथा संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था थप कडा पारिनेछ । मतदानको दिन कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा योजना परिमार्जन गरी कार्यान्वयनमा ल्याइने तयारी गरिएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी गरी दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले निर्वाचनको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारिएको जनाएको छ । निर्वाचनमा खटिने ९५४ जना कर्मचारीलाई चरणबद्ध रूपमा तालिम दिने तयारी भइरहेको सूचना अधिकारी बिदुरकुमार बस्नेतले बताए ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच समन्वयात्मक रूपमा तयारी अघि बढाइएको जनाइएको छ ।