फेरि एमालेमै फर्किए सीताराम गुरुङ

भिजन समाचार
224
Shares

करिब डेढ महिना अघि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका सीताराम गुरुङ पुनः नेकपा (एमाले) मा फर्किएका छन् । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका गुरुङले केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा नेकपा (एमाले) बाट विद्रोह गरेर आएका अम्बिरबाबु गुरुङलाई अघि सारेको निर्णयप्रति असहमति जनाउँदै आफू व्यवहारिक कारणले उक्त उम्मेदवारलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यही कारण देखाउँदै उनले पार्टीमा निरन्तर रहन नसक्ने निर्णय गरेको कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

सिद्धिचरण नगरपालिका–४, रुम्जाटार निवासी गुरुङ गत पौष ७ गते नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को हातबाट सिन्दुर पहिरिएर पार्टीमा प्रवेश गरेका थिए भने पौष २९ गते केन्द्रीय सदस्य पदको सपथ ग्रहण गरेका थिए । जिम्मेवारी लिएर पनि सक्रिय भूमिका निर्वाह गर्न नसक्नु गैरजिम्मेवार हुने ठहर गर्दै पद त्याग गरेको उनको भनाइ छ ।

गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको जानकारी सार्वजनिक गर्दै पार्टीभित्र जिम्मेवारी दिई सहयोग गर्ने पार्टी नेतृत्व तथा सदस्यहरूप्रति आभार व्यक्त गरेका छन् । साथै, वर्तमान राजनीतिक परिस्थितिमा ओखलढुंगा जिल्ला र समग्र मुलुकको विकासका लागि पुनः नेकपा (एमाले) मा समाहित भई आफ्नो राजनीतिक जीवन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

श्राेतका अनुसार अम्बिरबाबु र सिताराम बीच लामाे समय देखी टसल चलिरहेकाे छ । दुवैजना रुम्जाटारका स्थायीबासिन्दा हुन् । अम्बिरबाबुकै कारण सितारामले एमाले छाेडेर नेकपामा गएकाे श्राेतकाे दावि छ । अम्बिर पनि एमाले छाेडेर नेकपाबाट प्रतिनिधी समाकाे उम्मेदवार बनेपछी सिताराम पुन: एमालेमा फर्किएका हुन् ।