ठोट्ने खोलामा बेलिब्रिज जडानपछि तीन जिल्लाका नागरिकलाई राहत


ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिकको लामो समयदेखिको आवागमन समस्या अन्ततः समाधान भएको छ । ठोट्ने खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेसँगै तीन जिल्लाबीचको यात्रा सहज, सुरक्षित र छिटो भएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ र चिशंखुगढी गाउँपालिका–७ को सिमानामा पर्ने ठोट्ने खोलामा २१.३४ मिटर लम्बाइ र ३.०८ मिटर चौडाइको ४० टन भारवहन क्षमताको बेलिब्रिज पाँच दिनमै जडान गरी आइतबार हस्तान्तरण गरिएको हो । पुल सञ्चालनमा आएपछि स्वर्ण सगरमाथा बृहत् चक्रपथ अन्तर्गतका तीन जिल्लाका सर्वसाधारणलाई दैनिक आवतजावतमा सहजता आएको छ ।

पुल नहुँदा विशेषगरी वर्षायाममा खोलामा पानी बढ्दा सवारीसाधन रोकिने, यात्रु जोखिमपूर्ण रूपमा पैदल आवतजावत गर्नुपर्ने अवस्था थियो । अब भने सवारी साधन सहज रूपमा सञ्चालन हुन थालेपछि यात्राको समय घट्नुका साथै जोखिमसमेत कम भएको स्थानीयको भनाइ छ । स्थानीय व्यापारी, विद्यार्थी, बिरामी तथा सरकारी सेवामा आवतजावत गर्ने नागरिकलाई पुलले ठूलो सुविधा पुर्‍याएको छ ।

स्थानीयवासीका अनुसार बेलिब्रिज जडानपछि ओखलढुंगा–सोलुखुम्बु–खोटाङ यात्रा सहज मात्र होइन, सुरक्षित पनि बनेको छ । चिशंखुगढी गाउँपालिका–७ का वडा अध्यक्ष मुगाधन राईले पुल बनेसँगै लामो समयदेखिको समस्या समाधान भएको बताउँदै छोटो समयमै काम सम्पन्न गरेकोमा नेपाली सेना र सडक डिभिजनलाई धन्यवाद दिएका छन् ।

उक्त पुलकाे एक कार्यक्रमका बीच हस्तान्तरणसँगै नेपाली सेना श्री नं. १४ बाहिनी अड्डा ब्रिजिङ युनिटका युनिटपति सहायक रथी मनोज थापा र सडक डिभिजन हर्कपुर ओखलढुंगाका डिभिजन प्रमुख सिनियर डिभिजन इन्जिनियर सविन जोशीले संयुक्त रूपमा पुल उद्घाटन गरेका छन् ।

नेपाली सेना श्री नम्बर १४ बाहिनी अड्डा ब्रिजिङ युनिटका युनिट कमाण्डर प्रमुख सेनानी नारायण तुम्बाहाम्फेका अनुसार बेलिब्रिज जडानले तीन जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ । सेना र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै यस्ता विकास सहयोगका काम आगामी दिनमा पनि निरन्तर गर्ने उनले बताए । यस्तै नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुंगाले पुल जडानका बेला सुरक्षा तथा बन्दोबस्तीमा सहयोग गरेको गणका सेनानी प्रभु कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

सडक डिभिजन हर्कपुर ओखलढुंगाका प्रमुख सिनियर डिभिजन इन्जिनियर सविन जोशीले पुल नहुँदा नागरिकले भोग्दै आएको कठिनाइ अब अन्त्य भएको बताउँदै नेपाली सेनाकाे दुर्गा बक्स गण ओखलढुंगा सँगको समन्वय र सहयाेगमा काम सफल भएको जानकारी दिए । पुर्व रक्षामन्त्रि मानवीर राईकाे पहलमा बेलिब्रिज स्थापना भएकाे हाे । ठोट्ने खोलामा बेलिब्रिज जडानसँगै तीन जिल्लाका नागरिकले अब सुरक्षित, सहज र भरोसायोग्य आवागमन सुविधा पाएका छन्, जसले समग्र क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ ।