खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि दुधकुण्ड डोजाङ सोलुखुम्बुलाई

भिजन समाचार
234
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ मा सम्पन्न सातौं खुल्ला तेक्वान्दो प्रतियोगिता २०८२ को उपाधि दुधकुण्ड डोजाङ सोलुखुम्बु ले जितेको छ ।

जिल्ला तेक्वान्दो संघ ओखलढुंगा, भैरव भीम अँधेरी तेक्वान्दो डोजाङ र शुभलक्ष्मी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा तथा ध्लुब्जी द सिद्धिचरण नगरपालिका–११ सोब्रु र पद्मा स्पोर्टस् क्लब ओखलढुंगाको सह–आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा दुधकुण्ड डोजाङ सोलुखुम्बुले ६ स्वर्ण, ६ रजत र ११ कास्य पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो ।
त्यस्तै ६ स्वर्ण, १ रजत र ८ कास्य पदक सहित चम्पादेवी माध्यमिक विद्यालय दोस्रो तथा ४ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित शुभलक्ष्मी इङ्लिस स्कुल तृतीय भएको जिल्ला तेक्वान्दो संघ ओखलढुंगाका सचिव अशेष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ चम्पादेवीका निकेस राई र महिलातर्फ दुधकुण्ड डोजाङकी सन्ध्या राई सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १५ हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

ओखलढुंगा, सोलुखुम्बु र उदयपुर जिल्लाका ९ वटा डोजाङबाट १५० भन्दा बढी खेलाडी सहभागी रहेको प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकास र खेलाडीको उत्साह बढाएको आयोजकको भनाइ छ ।