ओखलढुंगामा मागभन्दा कम निर्वाचन प्रहरीको आवेदन

भिजन समाचार
318
Shares

ओखलढुंगामा आगामी प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि गरिने निर्वाचन प्रहरी भर्नामा लक्ष्यअनुसार आवेदन संख्या कम भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार नेपाल प्रहरीतर्फ ७० जना आवेदन कम परेको हो ।

जिल्लामा नेपाल प्रहरीतर्फ ८७७ जना र सशस्त्र प्रहरी बलतर्फ ९६ जना गरी कुल ९७३ जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखिएको थियो । तर तोकिएको अवधिमा नेपाल प्रहरीतर्फ ७८४ जना र सशस्त्र प्रहरी बलतर्फ ११९ जनाले मात्र आवेदन दिएका छन् ।

निर्वाचन प्रहरी छनोटका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन समय तोकिएको थियो । अपेक्षाअनुसार आवेदन नपरेपछि शुक्रबार र शनिबार गरी दुई दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

युवाहरू वैदेशिक रोजगार तथा शहरी क्षेत्रमा पलायन हुनु, निर्वाचन प्रहरीको तलव तथा सुविधा न्यून हुनु, साथै जिल्लाको दुर्गम भौगोलिक बनावटका कारण कार्यस्थल टाढा र कठिन हुनु आवेदन कम हुनुका मुख्य कारण भएको डीएसपी केसीले बताए ।

निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालय वा केन्द्रीय निर्देशन अनुसार समयमै व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

भर्ना प्रक्रियामा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा पूर्व निर्वाचन प्रहरीलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।