२७ जना कुपोषित बालबालिका उपचारपछि निको भए

भिजन समाचार
202
Shares

जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगामा चालु आर्थिक वर्षमा उपचार गरिएका कुपोषित बालबालिकामध्ये २७ जना स्वास्थ्य अवस्थामा सुधार आएपछि घर फर्किएका छन् ।

अस्पताल अन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहमा हालसम्म ३३ जना कुपोषित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारपछि स्वास्थ्यमा सुधार आएका २७ जना बालबालिकालाई डिस्चार्ज गरिएको हो ।

हाल अस्पतालमा चार जना र अस्पतालको निगरानीमा रहेका दुई जना गरी छ जना कुपोषित बालबालिकाको उपचार जारी रहेको पोषण केन्द्रकी निमित्त व्यवस्थापक जयन्ता धमलाले जानकारी दिइन् ।

उनका अनुसार उपचार पाएका बालबालिकामध्ये २० जना बालक र १३ जना बालिका रहेका छन् । तीमध्ये सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकाका १९ जना रहेका छन् भने चिशंखुगढी गाउँपालिकाका आठ जना, मोलुङ र सुनकोशी गाउँपालिकाका दुई–दुई जना, चम्पादेवी गाउँपालिकाका एक जना तथा सोलुखुम्बु जिल्लाका एक जना बालबालिकाले सेवा लिएका छन् ।

पोषण पुनःस्थापना गृहमा जन्मदेखि पाँच वर्षमुनिका कुपोषणग्रस्त बालबालिकालाई आवासीय रूपमा राखेर उपचार, पोषिलो आहार तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।

कुपोषणका कारण हुने शारीरिक तथा बौद्धिक अपाङ्गता न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस गृहमा बालबालिकाको उमेर र उचाइअनुसार तौल वृद्धि गर्न उपचारात्मक सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ । साथै बालबालिकासँगै हेरचाह गर्ने अभिभावकलाई पोषणसम्बन्धी ज्ञान र सीपसमेत प्रदान गरिँदै आएको छ ।

अस्पतालका अनुसार पुनःस्थापना गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्थाअनुसार दैनिक ८ देखि १२ पटकसम्म पोषिलो आहार खुवाइने गरिएको छ । जिल्ला अस्पताल रुम्जाटारबाट ओखलढुंगासँगै खोटाङ र सोलुखुम्बु जिल्लाका नागरिकले पनि सेवा लिँदै आएका छन् ।