मोलुङको दिप्लीसतीघाटमा मोटरेबल पुल निर्माण सुरु

भिजन समाचार
192
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ८ र ५ जोड्ने दिप्लीसतीघाटमा मोटरेबल पक्की पुलको निर्माण कार्य सुरु भएको छ । ठेक्का सम्झौता अनुसार एम.एस. सिंहादेवी–भुजेल जेभी, सिद्धिचरण नगरपालिका–११ ले पुल निर्माणको काम थालेको हो ।

पूर्वाधार विकास कार्यालय ओखलढुंगाका प्रमुख सुरेश प्रसाद साहका अनुसार भ्याट तथा पीएससहित ५ करोड १ लाख ४२ हजार १७५ रुपैयाँ ९२ पैसामा पुल निर्माणको ठेक्का सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत आयोजना सुरु गरिएको हो ।

कार्यालयका अनुसार पुल निर्माणको सम्झौता २०८२ साल साउन ५ गते गरिएको र २०८४ साल साउन ५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा पनि सवारी साधनको सहज आवतजावत हुने तथा स्थानीयवासीको दैनिकीमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।