वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी सक्रिय

भिजन समाचार
68
Shares

ओखलढुंगामा वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले सक्रिय भूमिका खेल्ने भएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना प्रदान गर्ने, कानुनी प्रक्रिया अपनाउन प्रोत्साहन गर्ने तथा ठगीबाट जोगाउने उद्देश्यले प्रहरीसँग समन्वय बढाउने निचोड निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत बिहीबार सिद्धिचरण नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा ओखलढुंगास्थित आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेतले कार्यक्रमको उद्देश्यबारे जानकारी गराइन् ।

कार्यक्रममा हेल्भेटास नेपाल कोशी प्रदेशका कार्यक्रम अधिकृत राम प्रमेश मन्डलले वैदेशिक रोजगारीको वर्तमान अवस्था, जोखिम र चुनौतीबारे प्रस्तुत गर्दै सुरक्षित आप्रवासनका लागि सही सूचना, कानुनी प्रक्रिया र सीप विकासमा जोड दिनुपर्ने बताए । यस्तै वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईंले बोर्डले श्रमिकहरूका लागि प्रदान गर्दै आएका कल्याणकारी सेवा, उद्धार, राहत तथा पुनर्स्थापना कार्यक्रमबारे जानकारी दिए ।

सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजन खनालले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय तह, प्रशासन र प्रहरीको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत मनोज मगरले सुरक्षित आप्रवासन कार्यक्रम ठगी, मानव बेचबिखन तथा अन्य जोखिमपूर्ण अवस्थाबाट नागरिकलाई जोगाउने प्रभावकारी माध्यम भएको उल्लेख गरे ।

यस्तै इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरका इन्चार्ज मनिष लुईटेलले समुदायस्तरमै सचेतना फैलाउन सके वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सकिने बताए । कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपाने, विभिन्न प्रहरी चौकी इन्चार्ज तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।