दाउ प्रहारबाट ओखलढुंगाका खत्री गम्भीर घाइते, सल्यानका युवक पक्राउ

भिजन समाचार
7.6k
Shares

ओखलढुंगाका एक युवकलाई दाउ प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सल्यानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकलीका २१ वर्षीय शैलेस खत्रीमाथि काठमाडौँको टोखा नगरपालिका–स्थित एक मासु पसलमा दाउ प्रहार गर्ने सल्यानका अन्दाजी १८ वर्षीय मनोज विकलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।


घटना पौष १४ गते सोमबार राति करिब १० बजे भएको हो । प्रहरीका अनुसार व्यक्तिगत रिसिबीका कारण आवेगमा आएर साथीमाथि दाउ प्रहार गरेको प्रारम्भिक बयान आरोपी विकले दिएका छन् । प्रहरी वृत्त महाराजगञ्जका वरिष्ठ प्रहरी सहायक निरीक्षक सुरेन्द्र स्वाँरले उक्त जानकारी दिएका हुन् ।


आरोपी विक हाल प्रहरी हिरासतमा रहेका छन् भने उनीविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । वरिष्ठ सई स्वाँरका अनुसार दाउ प्रहारबाट घाइते खत्रीको निधारदेखि नाक र ओठसम्म गहिरो चोट लागेको छ । उनको हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ ।
घाइते खत्रीका दाजु सन्तोष खत्रीले भने मादक पदार्थ सेवन गरेर निर्दोष भाइमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको बताउँदै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।


घटनास्थलमा रहेको सिसिटिभी फुटेजमा मासु पसल भित्र सुतिरहेका आरोपी विक अचानक उठेर दाउ बोकेर भित्र प्रवेश गरेको र केही समयपछि घाइते युवक खत्री रक्ताम्मे अवस्थामा बाहिर निस्किएको दृश्य देखिएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।