धरान लैजाँदै गरिएको राईकाे शव प्रहरीले किन केत्तुकेबाट फर्कायो ?

भिजन समाचार
2.3k
Shares
सांकेतिक तस्वीर ।

ओखलढुंगामा अटो दुर्घटनामा घाइते भएका एक वृद्धको मृत्यु भएपछि उनको शव अन्तिम संस्कारका लागि धरान लैजाँदै गर्दा प्रहरीले बाटोमै रोकेर फिर्ता ल्याएकाे छ । सिद्धिचरण लाेकमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेको बौद्धडाँडाबाट अस्थायी प्रहरी पोष्ट केत्तुकेको टोलीले शव बोकेको गाडी रोकेर शव फिर्ता ल्याएकाे हाे । आवश्यक कानुनी प्रक्रिया पूरा नगरी परिवारले शव धरान तर्फ लगेकाले फर्काइएकाे बुझिएकाे छ ।

सिद्धिचरण नगरपालिका–११ स्थित आर्मी ब्यारेक नजिक गत मंसिर २४ गते पार्किङ गरी राखिएको प्र.१–०२–००३ ह ८७३२ नम्बरको अटो आफैँ अनियन्त्रित भई पछाडि सर्दा सडकको भित्तामा पल्टिएको थियो । सोही क्रममा अटोले थिच्दा ६२ वर्षीय चालक राजकुमार राई गम्भीर घाइते भएका थिए । उनी सुनसरीको धरान उपमहानगरपालिका–१६ घर भई हाल मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सा बस्दै आएका थिए ।

दुवै खुट्टामा चोट लागे पनि अवस्था सामान्य रहेको भन्दै उनलाई ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारपछि मंसिर २९ गते डिस्चार्ज गरिएको थियो । त्यसपछि उनी सिद्धिचरण नगरपालिका–३ मा आफन्त भिमबहादुर राई (ज्वाइँ) को घरमा बस्दै आएका थिए ।

तर उपचारपछि घरमै बसिरहेका राईको पौष १६ गते साँझ अचानक मृत्यु भयो । आफन्तले शव अन्तिम संस्कारका लागि धरान लैजाने निर्णय गर्दै पौष १७ गते बिहान पोस्टमार्टम नगरी शव बोकेर धरानतर्फ लागेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार दुर्घटनापछि घाइते भई पछि मृत्यु भएको घटनामा पोस्टमार्टम अनिवार्य हुने भएकाले कानुन अनुसार शव रोकेर जिल्ला अस्पताल रुम्जाटार पठाइएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।