ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा भएको मगर दम्पत्तिको विभत्स हत्या प्रकरणमा हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धान तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना घटेकाे दुई दिन वितिसकेकाे छ ।
गत पौष १४ गते राति भदौरेका ६० वर्षिय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगर आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । पौष १५ गते बिहान अबेरसम्म घर नखुलेपछि शंका लागेर छिमेकीले हेर्दा दम्पत्तिको हत्या भएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट तालिम प्राप्त खोजी कुकुर झिकाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । उनका अनुसार घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहे पनि हालसम्म कुनै ठोस सुराक हात लाग्न सकेको छैन र कोही पनि पक्राउ परेका छैनन् ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मृतक दम्पत्तिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । घटनाको वास्तविकता पत्ता लगाउन सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया