ओखलढुंगा जिल्लाको सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन तथा १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न कार्यक्रममा संस्थाले आफ्नो आय–व्यय विवरण र वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समिति उप–प्रमुख तारा देवी कार्कीको प्रमुख आतिथ्यतामा भएको सभामा सहकारीको स्थापना २०६५ सालमा २५ सदस्यबाट सुरु भई हाल ४२१ जना शेयर सदस्य र ३१५ जना बचतकर्ता पुगेको जानकारी अध्यक्ष रामकुमारी गुरुङले दिइन् ।
गत आर्थिक वर्षमा संस्थाले ६५ लाख ४३ हजार २९० रुपैयाँ आम्दानी र सोही बराबर खर्च गरेको तथा सबैभन्दा बढी ३५ लाखभन्दा बढी रकम ऋण लगानीमा गएको बताइएको छ ।
अधिवेशनले अध्यक्षमा पुनः रामकुमारी गुरुङलाई सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई सरसफाइ सामग्रीसमेत वितरण गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया