सिद्धिचरण नगरपालिकामा चालु आर्थिक वर्षको चौमासिक अवधिमा सबैभन्दा बढी राजश्व वडा नम्बर ६ बाट संकलन भएको छ ।
नगरपालिकाको साउनदेखि मंसिर मसान्तसम्मको विवरण अनुसार सबै वडाबाट कुल ५१ लाख ८१ हजार ३०५ रुपैयाँ ८ पैसा राजश्व संकलन भएकोमा, सिद्धिचरण–६ बाट मात्रै ६ लाख ४५ हजार ९५९ रुपैयाँ ४५ पैसा उठेको निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र बहादुर कटवालले बताए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कटवालका अनुसार सबैभन्दा कम राजश्व भने वडा नम्बर ५ बाट ६४ हजार १७७ रुपैयाँ ५० पैसा मात्र संकलन भएको छ ।
त्यस्तै, वडा नम्बर ११ बाट तीन लाख ९९ हजार ७७१ रुपैयाँ १० पैसा, वडा नम्बर ७ बाट तीन लाख ३१ हजार ३३४ रुपैयाँ, वडा नम्बर ४ बाट तीन लाख १७ हजार ७३९ रुपैयाँ ५० पैसा, र वडा नम्बर ३ बाट दुई लाख ६४ हजार १२१ रुपैयाँ राजश्व संकलन भएको छ ।
वडा नम्बर ९ ले दुई लाख ९ हजार १६७ रुपैयाँ ५० पैसा, वडा नम्बर २ ले एक लाख ७४ हजार ४६५ रुपैयाँ, वडा नम्बर ८ ले एक लाख ५९ हजार ८८० रुपैयाँ ८० पैसा, वडा नम्बर १० ले ९३ हजार ८६६ रुपैयाँ तथा वडा नम्बर १ ले ७४ हजार ७३७ रुपैयाँ ५० पैसा राजश्व संकलन गरेको नगरपालिकाको राजश्व शाखाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा पनि सबैभन्दा धेरै राजश्व वडा नम्बर ६ बाट नै संकलन भएको तथ्यांक रहेको छ ।
वडा अध्यक्ष मेख बहादुर मगरका अनुसार वडाबासीलाई गाउँगाउँमै पुगेर तथा शहरमा बसोबास गर्ने सेवाग्राहीलाई शहरमै पुगेर सेवा दिने गरिएको कारण राजश्व संकलनमा वृद्धि भएको हो । साथै वडामा काठ तथा जडिबुटी निकासी बढेकाले पनि राजश्व बढेको उनले जानकारी दिए ।

प्रतिक्रिया