लायन्स क्लबमार्फत ओखलढुंगाका दुई विद्यालयका विद्यार्थीलाई सहयोग

भिजन समाचार
94
Shares

लायन्स क्लब अफ काठमाण्डौले ओखलढुंगाको जाल्पा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार सिद्धिचरण नगरपालिका–११ गैरीगाउँस्थित जाल्पा माध्यमिक विद्यालयका बालकक्षा देखि कक्षा ९ सम्म अध्ययनरत २६१ जना विद्यार्थीलाई जाडोबाट जोगाउन ट्र्याक सुट वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक रत्नबहादुर खत्रीका अनुसार करिब तीन लाख रुपैयाँ बराबरका ट्र्याक सुट प्राप्त भएका छन् । जाडोको समयमा चिसोका कारण पठनपाठन प्रभावित नहोस् र विद्यार्थीको आत्मबल बढोस् भन्ने उद्देश्यले सहयोग गरिएको लायन्स क्लब अफ काठमाण्डौकी प्रतिनिधि निशा जोशी श्रेष्ठले बताइन् ।

विद्यार्थीलाई ट्र्याक सुट हस्तान्तरण गर्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, वडा अध्यक्ष विनोद ताम्राकार, प्रधानाध्यापक खत्री तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले शैक्षिक क्षेत्रमा लायन्स क्लबले गरेको सहयोग उदाहरणीय रहेको बताए ।

यसैबीच, ओखलढुंगाकै सुनकोशी गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालय, सिस्नेरीमा लाइन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एफ का क्लस्टर चिफ डा. खिलानाथ सापकाेटाकाे एक लाख ५० हजार सहयाेग मार्फत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बालकक्षा देखि कक्षा १० सम्म अध्ययनरत २२४ जना विद्यार्थीलाई स्कुल ब्याग, कापी र कलम प्रदान गरिएको हो ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङकाे उपस्थितिमा विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष गिर्वराज थापामगरले जानकारी दिए । यसका साथै सुनकाेशी-१ का याेगिस्थान आधारभूत विद्यालय साँधी र महाकाली आधारभूत विद्यालय आम्बाेटका विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरिने डा. सापकाेटाले जानकारी दिए । गत वर्ष पनि विविन्न विद्यालयका विद्यार्थीलाई सापकाेटाकाे सहयाेगमा विद्यालय झाेला साथै शैक्षिक सामाग्री वितरण गरिएकाे थियाे ।