ओखलढुंगामा एक लाख २२ हजार ७१५ मतदाता कायम

भिजन समाचार
102
Shares

ओखलढुंगामा कुल मतदाताको संख्या एक लाख २२ हजार ७१५ कायम भएको छ । हालै सम्पन्न मतदाता नामावली अद्यावधिक  पछि चार हजार ३३९ जना मतदाता थपिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज १० गतेदेखि मंसिर ५ गते सम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानबाट उक्त संख्या वृद्धि भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका सूचना अधिकारी बिदुरकुमार बस्नेतले जानकारी दिए ।

यसअघि जिल्लामा एक लाख १८ हजार ३७६ मतदाता रहेका थिए । नामावली संकलनका क्रममा पाँच हजार ९३२ जनाले विवरण दर्ता गराए पनि अद्यावधिक प्रक्रियामा चार हजार ३३९ जना मात्र अन्तिम नामावलीमा कायम भएका छन् । यस क्रममा एक हजार ५३९ जनाको विवरण भने हटाइएको बस्नेतले जानकारी दिए।

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरणलाई समावेश गर्दै आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको कार्यालयले जनाएको छ ।

अन्तिम नामावली अनुसार जिल्लाभर कुल ८४ मतदान स्थलमा १५७ मतदान केन्द्र कायम गरिएको छ । यसअघि थपिएका पाँच नयाँ मतदान केन्द्रमध्ये छात्र प्रगति माध्यमिक विद्यालय, भदौरेको मतदान केन्द्र भने पछिल्लो अद्यावधिकमा हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगको निर्देशन अनुसार जिल्लामा आवश्यक सम्पूर्ण तयारीका कार्यहरू तीव्र रूपमा अघि बढिरहेको कार्यालयले जनाएको छ ।