श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले विदेशी सहयोग र ऋणको भरमा देश चलाउने प्रवृत्तिले नेपाललाई परनिर्भर बनाउँदै लगेको बताएका छन् । पार्टीको जिल्ला समितिले ओखलढुंगामा आयोजना गरेको संगठन विस्तार तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले राजनीतिक नेतृत्वकै कारण देश कमजोर बन्दै गएको दाबी गरे ।
उनले इमानदार, देशभक्त र श्रममुखी नेतृत्वले शासन नगरे देशकै भविष्य संकटमा पर्ने खतरा बढ्दै गएको बताए । “देश विकास गर्ने भन्दै विदेशीसँग सहयोग माग्ने र त्यही मागेको पैसा पनि भ्रष्टाचार गरेर कमसल विकास गर्ने प्रवृत्तिले देश माग्ने नेताका कारण थाङ्ने जनताको हैसियतमा पुग्न थालेको छ,” उनले भने, ”अब श्रमबाटै देशको विकासमा एकजुट हुने बेला आएको छ । देशप्रेमी सचेत नागरिक राष्ट्रको स्वाभिमान र स्वाधीनताको पक्षमा उभिने बेला यही हो ।”
अध्यक्ष साम्पाङले श्रमलाई सम्मान गर्ने संस्कृति विकास गरेर मात्रै देशलाई गरिखाने, समृद्ध र स्वाधीन बनाउन सकिने जिकिर गर्दै श्रम संस्कृति पार्टीले श्रममा आधारित अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्ने बताए ।
फरक प्रसंगमा उनले पार्टीले पुराना वा नयाँ कुनै पनि राजनीतिक दलसँग सहकार्य नगरी आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने रणनीति लिएको जानकारी दिँदै जनताबाट बहुमत प्राप्त गर्ने दाबीसमेत गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले पनि सम्बोधन गरेका थिए । आमसभामा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया