डढेलो लगाउने पहिचान गर्न ओखलढुंगामा सुराकी सक्रिय बनाइने

भिजन समाचार
90
Shares

आगलागी नियन्त्रणका लागि सुराकी प्रणाली सक्रिय बनाइने भएको छ । जिल्लामा बर्षेनी डढेलो र आगलागीका कारण लाखौँ रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति हुँदै आएपछि यस वर्ष आगलागी नियन्त्रणका लागि सुराकी प्रणाली सक्रिय बनाइने भएको हाे ।

जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाको शुक्रबार बसेको बैठकले जानीजानी आगो लगाउनेलाई पहिचान गरी पक्राउ गर्ने उद्देश्यले सुराकी परिचालन गर्ने निर्णय गरेको हो । विगत वर्षहरूमा दर्जनौँ आगलागीका घटना भए पनि आगो लगाउने व्यक्ति पक्राउ पर्ने घटना विरलै भएकाले अब कडाइका साथ कारबाही अघि बढाइने सरोकारवालाले बताएका छन् ।

डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनराज राईले जानीजानी आगो लगाउने र डढेलो लगाउनेलाई तीन वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जानकारी गराउँदै सबैलाई सचेत रहन आग्रह गरे । उनले आगलागी नियन्त्रणका लागि यस वर्ष वन कार्यालयले पनि सुराकी प्रणाली बढाउने योजना बनाएको र यसमा सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक समाजको सहकार्य अनिवार्य रहेको बताए ।

बैठकले आगलागी नियन्त्रण र क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्ने, निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता अनुमोदन गर्ने तथा विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले आयोजनाको अनुगमन गर्दा स्थानीय तहलाई अनिवार्य समावेश गर्ने निर्णयसमेत गरेको छ ।

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले सुख्खायाम र जाडोको समयमा आगलागीको जोखिम उच्च रहने भएकाले सबै निकाय र नागरिकलाई बेलैमा सतर्कता अपनाउन आग्रह गरे । कसैले जानीजानी आगो लगाएको सूचना पाएमा तुरुन्त प्रहरी, प्रशासन वा स्थानीय तहमा खबर गरी सहयोग गर्नसमेत प्रजिअ मंग्रातीले सबैलाई अनुरोध गरेका छन् ।