ओखलढुंगामा बहुविवाह मुद्दामा फरार रहेका जोडीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले पौष ९ गते ललितपुर महानगरपालिका–२ स्थित होप भ्याली क्षेत्रबाट अनुप नेपाली र सरस्वती नेपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सिद्धिचरण नगरपालिका–२, ओखलढुंगा स्थायी ठेगाना भएका अनुप नेपालीले पहिलो पत्नी जीवितै र वैवाहिक सम्बन्ध कायम रहँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ की प्रिया अछामी भनिने सरस्वती नेपालीसँग दोस्रो विवाह गरेका थिए । पीडित पहिलो श्रीमतीको उजुरीका आधारमा उनीहरूमाथि बहुविवाह सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार लामो समय देखि फरार रहेका उनीहरूको खोजीका क्रममा विशेष सूचनाको आधारमा ललितपुरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका दुवै जनालाई ओखलढुंगा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि उनीहरूलाई बहुविवाह सम्बन्धी कसुरमा अदालतमा पेश गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नेपालको मुलुकी फौजदारी संहिता अनुसार पहिलो श्रीमती जीवितै रहँदा दोस्रो विवाह गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो । यस्तो कसुरमा दोषी ठहर भए कैद र जरिवानाको सजाय हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया