ओखलढुंगामा तेलहन बालीको उत्पादन पछिल्ला दुई आर्थिक वर्षयता बढ्दो क्रममा देखिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष तेलहन बालीको उत्पादन ४.३६ प्रतिशतले वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ४८० हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिँदा ०.६६१ मेट्रिक टन उत्पादन भएको थियो । भने आर्थिक वर्ष २०८१/०८२ मा ४१० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ०.६९ मेट्रिक टन उत्पादन भएको छ ।
तेलहन बाली अन्तर्गत जिल्लामा सबैभन्दा धेरै तोरी खेती हुँदै आएको छ । पछिल्ला दुई आर्थिक वर्षमा मात्र तोरी खेती २१० हेक्टर क्षेत्रफलमा विस्तार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा हाल तोरी ४१० हेक्टर, रायो २८ हेक्टर, तिल २ हेक्टर, झुसे तिल २० हेक्टर र बदाम २० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । तोरी बाहेकका अन्य तेलहन बालीको क्षेत्रफल तथा उत्पादन भने अत्यन्त न्यून रहेको केन्द्रले जनाएको छ ।
कृषि प्राविधिकका अनुसार उन्नत बीउ, समयमै मल तथा सिँचाइ सुविधा, किसानमा बढ्दो व्यावसायिक सोच र प्राविधिक सहयोगका कारण तेलहन बालीको उत्पादनमा सुधार आएको हो । आगामी वर्षहरूमा थप प्रवर्द्धन कार्यक्रम सञ्चालन गरे उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया