ओखलढुंगाको जिसस क्षेत्रमा बजार अनुगमन गर्दा एघार हजार बढीको अखाद्य सामाग्री फेला परेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा प्रशासकीय अधिकृत मनोज कुमार मगरको संयोजकत्वमा बिहीबार सिद्धिचरण नगरपालिका–११ मा पर्ने जिसस टोल, बसपार्क क्षेत्र र सोब्रु क्षेत्र गरि ११ वटा होटल तथा पसलमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सुरक्षा निकाय र पत्रकारसहितको टोलीले अनगुमन गर्दा ११ हजार ८५० रुपैयाँ बराबरको म्याद गुज्रिएको अखाद्य सामग्री जफत गरी नष्ट गरिएको प्रशासकीय अधिकृत मगरले जानकारी दिए ।
व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका वस्तु बिक्री गर्ने जस्ता गुनासो आएको र नियमित अनुगमन पनि भएकाले बजार अनुगमनलाई थप सक्रिय बनाइएको उनले बताए ।
म्याद गुज्रिएका अखाद्य वस्तु उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले गुणस्तरीय तथा म्यादभित्रका सामान मात्र खरिद–विक्रि गर्न प्रशासनले उपभोक्ता र व्यापारीलाई आग्रह गरेको छ ।
अनुगमनलाई सदरमुकाम, बजार क्षेत्र मात्र नभई डिलर पसलहरु, ग्रामीण भेगसम्म सक्रिय बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री गर्ने, मूल्य सूची नराख्ने, दर्ता तथा नवीकरण नगरेका पसललाई कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया